४२२-कविता खण्ड



पागल कविता - लक्ष्मी प्रसाद देवकोटा 

जरुर साथी म पागल!

यस्तै छ मेरो हाल!

शब्दलाई देख्दछु!
दृश्यलाई सुन्दछु!
बास्नालाई स्वाद लिन्छु!
आकाशभन्दा पातला कुरालाई छुन्छु!
ती कुरा,
जसको अस्तित्व लोक मान्दैन
जसको आकार संसार जान्दैन!
म देख्दछु ढुङ्गालाई पूल!
जब, जल–किनारका जल–चिप्ला ती
कोमलाकार पाषाण,
चाँदनीमा,
स्वर्गको जादूगर्नी मतिर हाँस्दा,
पत्रिएर, नर्मिएर, झल्किएर,
बल्किएर उठ्दछन् मूक पागलझैं,
पूल झैं एक किसिमका चकोर–पूल!
म बोल्दछु तिनसँग, जस्तो बोल्दछन् ती मसँग
एक भाषा, साथी!
जो लेखिन्न, छापिन्न, बोलिन्न,
बुझाइन्न, सुनाइन्न!
जुनेली गङ्गा–किनार छाल आउँछ तिनको भाषा
साथी! छालछाल!
जरुर साथी म पागल!
यस्तै छ मेरो हाल!

तिमी चतुर छा बाचाल
तिम्रो शुद्ध गणित–सूत्र हरहमेशा चलिरहेको छ
एकै बाँकी रहन्छ!
तिमी पाँच इन्द्रियले काम गर्छौ
म छैटौँले!
तिम्रो गिदी छ साथी!
मेरो मुटु!
तिमी गुलाफलाई गुलाफ सिवाय देख्न सक्तैनौ,
म उसमा हेलेन र पद्यिनी पाउँछु,
तिमी बलिया गद्य छौ!
म तरल पद्य छु!
तिमी जम्दछौ जब म पग्दन्छु,
तिमी सङ्लन्छौ जब म धमिलो बन्छु,
र ठीक त्यसैको उल्टो!
तिम्रो संसार ठोस छ!
मेरो बाफ!
तिम्रो बाक्लो, मेरो पातलो!
तिमी ढुङ्गालाई वस्तु ठान्दछौ,
ठोस कठोरता तिम्रो यथार्थ छ!
म सपनालाई समात्न खोज्दछु,
जस्तो तिमी, त्यो चिसो, मीठो अक्षर काटेको
पान्ढिकीको बाटुलो सत्यलाई!
मेरो छ बजे काँढाको साथी!
तिम्रो सुनको र हीराको!
तिमी पहाडलाई लाटा भन्दछौ,
म भन्छु वाचाल!
जरुर साथी!
मेरो एक नशा ढीलो छ ।
यस्तै छ मेरो हाल!

म माघको ठण्डीमा
ताराको सेतो प्राथमिक राप तापेर
बसिरहेको थिएँ,
दुनियाँले मलाई तरङ्गी भने!
भस्मेश्वरबाट फर्कदा सात दिन
टोह्लाएको देखेर
भूत लागेको भने!
एक सुन्दरीका केशमा
समयका तुषाराको
पहिला छिर्का परेको देखेर
म तीन दिन रुँदा,
मेरो आत्मालाई बुद्धले छुँदा
मलाई छटाएको भने!
मैले वसन्तको पहिलो कोकिल सुनेर
नाचेको देख्दा,
बहुला भने!
एक सूनसान औंसीले मलाई निशास भएर
म प्रलय–वेदनाले उफ्रेँ!
मूर्खहरुले मलाई त्यस बेला ठिङ्गुरा हालेर राखे!
म तूफानसँग एक दिन गीत गाउन थालेको थिएँ,
मलाई बुज्रुगहरुले,
राँची पठाइदिए!
म आपूमलाई एक दिन मरेको सम्झेर
लम्पसार थिएँ,
एक साथीले बेसरी चिमटिदिए
र भने, “ए पागल तेरो मासु अझ मरेको छैन!”
यस्ता कुरा भए साल, साल!
पागल छु साथी!
यस्तै छ मेरो हाल!

मैले नवाबको मदिरालाई खून भनेको छु,
छिमेकी रण्डीलाई लाश भनेको छु!
राजालाई गरीब,
सिकन्दरलाई मैले गाली दिएको छु!
महात्मा भनाउँदाको निन्दा गरेको छु!
नगण्य व्यक्तिलाई, तर,
सातौं आसमानसम्म,
तारीफको पुलमा चढाएको छु,
तिम्रा महापण्डित, मेरो महामूर्ख!
तिम्रो स्वर्ग, मेरो नरक!
तिम्रो सुन, मेरो फलाम
साथी! तिम्रो धर्म मेरो पाप!
जहाँ तिमी आपूलाई चलाक सम्झन्छौ,
उहाँ म देख्छु तिमीलाई बिलकुल लाटा!
तिम्रो उन्नति, मेरो अवनति,
यस्तै छ मोलमोलाइको उलट–पलट,
साथी!
तिम्रो विश्व, मेरो बाल!
जरुर साथी! म बिलकुल चन्द्राहत छु
चन्द्राहत,
यस्तै छ मेरो हाल!

म अन्धालाई दुनियाँको अगुवा देख्दछु,
गुफा–तपस्वीलाई भगुवा देख्दछु,
मिथ्याका मञ्च चढेकालाई
काला नटुवा देख्दछु!
विफललाई सफल देख्दछु!
प्रगतिलाई अगति देख्दछु!
या हुँला मै ऐँचाताना!
या हुँला मै दीवाना!
साथी! मै दीवाना!
निर्लज्ज नेतृत्वको नीरस रसनाको
रण्डीको नाच हेर!
जन–अधिकारको डँडाल्नोको भाँच हेर!
जब भँगेर–टाउके छापाको कालो मिथ्याले
मेरो विवेक–वीरलाई
जाली झुठले ललकार्छ
तब हुन्छन् मेरा गाला राता साथी!
सल्केको गोलझैं राता!
जब निमुखा दुनियाँ कालो जहर पिउँदछ,
पिउँछ कानले,
र अमृत भनिठानेर,
र मेरा आँखाअगाडि, साथी!
तब हुन्छन् ठाडा मेरा रौं, रौं
गर्गनका सर्पकेश झैं, मेरा जिस्क्याइएका
रौं, रौं!
जब बाघले मृग खान आँटेको देख्छु, साथी!
या ठूलो माछाले सानो,
तब मेरा मर्काएका हड्डीमा पनि दधीचिको आत्माको
भयङ्कर बल पसेर, बोल्न खोज्दछ, साथी!
तब कडकडकउँछन् मेरा बत्तीस दन्ते बङ्गारा,
दुवै!
जस्तो भीमसेनका दाँत!
अनि,
प्रकोपको लाल–लाल आँखाका डल्ला,
फनक्क घुमाएर एक डबलले, म
यो अमानवको मानवजगत्लाई,
एक आगोको लप्काले झैं हेर्दछु, साथी!
अफ्रिन्छन् मेरा कलपुर्जा,
खलत्रल, खलबल!
तूफान हुन्छ मेरो सास!
विकृत हुन्छ मेरो चेहरा!
बन्दछ मेरो दिमाग, साथी!
बडवानलझैं, बडवानलझैं!
म वन खाने आगो झैं बहुला हुन्छु!
बहुला, साथी!
काँचै निलूँ झैं विश्वविशाल!
जरुर साथी!
म सुन्दर–चकोर, असुन्दर–फोर!
कोमल–क्रूर
चिडिया, स्वर्गाग्नि–चोर
तूफान–पुत्र!
पागल ज्वालमुखीको उद्गार
भयङ्कर व्यक्तित्वपाल!
जरुर, साथी!
सन्के मगज छु, सन्के!
यस्तै छ मेरो हाल!

गौथौलिको चिरिबिरी - लेखनाथ पौडेल 

म बस्ने कोठाकै दलिन-बिचमा गौंथली बस्यो
पिटाएको तन्नाउपर फिर मैला पनि खस्यो।
मलाई त्यो देखी हृदयबिच लाग्यो किरकिरी
चरी बोल्यो मेरो मन सब बुझी त्यो चिरिबिरी।।१।।
अहो !! त्यस्ता ताता नजर अति राता विष सरी
तरी तात्यौ बाबा ! किन मनमनै त्यो रिस गरी।
तिमी धर्मात्मा छौ घरबिच म छू आज अतिथि
तिथी माघे औंसी शहरभर भूकम्प-फजिती।।२।।
जहाँ बस्थ्यौँ हामी भवन उहि पातालमय भो
चल्यो भारी हा हा नसहिसकनू नै प्रलय भो।
कहाँ पाऊँ ठाडो घर, कसरि ओतौँ शिर भनी
दुवै भाले-पोथी फनफन घुम्यौँ व्याकुल बनी।।३।।
बिरालोको फेरि अधम चिलको, काग शठको
शिकारी बोहोरी, कुकुरहरुका दुष्ट हठको।
परी शङ्का भारी सबतिर बिचारी डुलिडुली
निराशामा रुन्थेँ अघि अघचिलो ठाम नमिली।।४।।
यहाँ तिम्रो सानू घरमहल वा रामझुपडी
खडा देखी राम्रो गगन-बिच खेल्दै लडिबुडी।
पसेको हूँ बाबा ! अलि दिन बसूँला कि म भनी
प्रियाको आगामी प्रसव दिनको उत्सव गनी।।५।।
तिमी भन्छौ मेरो सकल घर यो खास यसमा
चरी फुस्र्यो सानू कुन चिरबिरे रङ्गरसमा।
म भन्छू हे बाबा ! घरमहल मेरो छ नभन
पलामा घर्केका घरउपर दौडाउ नयन।।६।।
निमेषैमा भत्की घररर गरी घर्र त्यसरी
ढली ज्यानै हर्ने घर छ डरको दीर्घ भुमरी।
विधाताको भित्रै मधुर करुणाको रस परी
परेनौँ तै हामी विकट भुमरीमा अरु सरी।।७।।
तिमी जान्ने सुन्ने मनुज चतुरा, हामी बिचरा
चरा साह्रै साना अबुझ वनका केवल किरा।
तथापी श्रद्धाले झुकि विनति गर्छू म सरस
वृथा मेरो भन्ने जटिल ममता-ग्रन्थि नकस।।८।।
खुला पारी राम्रोसँग नयनको भित्र नयन
बिचारी यी सारा गृह-विभवको चञ्चलपन।
दयालू भै रोऊ मिलिजुलि सबै वान्धवसित
भलो होला जाऊ, रिस नगर रन्केर मसित।।९।।
कुनै पल्टेका छन् मलिन मुख लाई रुखमनि
कुनै रुन्छन् बाटो-बिच नमिलि सानू रुख पनि।
कुनै भोका शोकाकुल मरिरहेछन् नगरमा
हरे ! तिम्रो यस्तो कुन तुजुक यो तुच्छ घरमा।।१०।।
त्यहाँ त्यो शय्यामा गर तिमि खुशीसाथ शयन
यहाँ यो डन्डीमा बसिबसि म चिम्लन्छु नयन।
अरू सेरोफेरो सब मुफत मेरो छ नभन
अघी मेरो भन्ने कतिकति गए ती सब गन।।११।।
उघारी त्यो भारी मधुर करुणा-द्वार मनको
गरी रक्षा सारा विकल बिचरा दीन जनको।
यता विश्व-प्रेमी बन। मनुज चोला सफल होस्
उता स्वर्गद्वारा क्षणभर पनी बन्द नरहोस्।।१२।।
तिमीभन्दा लाखौँ गुन अझ धनी मानिस पनि
डुलेका छन् बाबा ! फगत भिखमङ्गासरि बनी।
विधाताको सारा अघट घटना सम्झ मनमा
सबै मेरो मेरो भनि नभुल यो मोह-वनमा।।१३।।
कदाचित् यो तिम्रो भवन चकनाचूर पहिले
हुँदो हो ता हुन्थ्यो कसरि किन यो भेट अहिले।
दया राख्यो भारी सदय विधिले सङ्गत भयो
सुन्यौ मेरो सानू चिरिबिरि, सबै पाठ पढ यो।।१४।।
कसै सक्तैनौ यो यदि तिमि भने घच्च सहन
मलाई द्यौ बाबा ! फगत अब यो रात रहन।
म भोली नै जान्छू नृपतिसँग भूकम्प कहन
पखेट छन् सक्छू अझ त नभमा सर्र बहन।।१५।।
गरी यस्तो राम्रो चिरिबिरि चरी त्यो चुप भयो
भनेँ मैले भैगो तँ बसि कुहि दे गैह्र घर यो।
पखेटा पैँचो दे बरु म पछि आएर तिरुँला
दयाधारी राजासित सकल मै विन्ति गरुँला।।१६।।

मृत्युपछिको अभिव्यञ्जना- बालकृष्ण सम

मेरी प्रिया, अब मलाई राम्रै निको भयो,
झरेको फूलको थुँगोभन्दा पनि
जीउ अझ शतशः हलुको भो,
अझ किन तिमी त्यस्तरी असार बजार गरी
रोएकी धत्,
मुटुकति घाइते भयो होला ।

देख्दिनौ वायुका सूक्ष्म तरङ्ग
तिम्रो विलापको आघातले टुट्दै चकनाचुर हुँदै छन्,
म त कण–कण देख्न सक्छु,
छियाछियामा घुस्न सक्छु
चुप लाग प्रिया,
मलाई माया गर्ने मान्छे, चुप लाग,
रुवाइलाई बौद्ध शून्यमा बिसाऊ ।

अब मलाई सन्चो भयो,
कुनै शूलले पनि घोच्दैन,
मेरो शत्रुले तीखो त्रिशूल लिएर
घोच्न आयो भने पनि
त्यो वृथा मेरो बीचमा धूवाँ झैँ बत्तिनेछ,
किनभने अब म साह्रो ऐनाजस्तो होइन
आकाशजस्तै कोमल पारदर्शक भइसकेकोछु,
मेरो हात हावाकै मात्र पनि हुँदो हो त
म त्यसले तिम्रो आँसु पुछिदिन्थेँ
तिम्रा आँखामा चुम्बन पोसेर
आँसु भुलभुल आउनेप्वाल टाल्थेँ
तर म आकाश भइसकेँ।
हेर्ने ऐनामा पनि म आफ्नो अनुहार देख्दिनँ,
प्रकृतिको ऐना पोखरीमा निहुरी हेर्छु
त्यहाँ म आफूलाई आकाश मात्र देख्छु ।
प्रिया, के मलाई ‘मर्यो्’ भनिदियौ—
मर्योह भनिठान्यौ?
हो?
साँच्चै, म त्यस्तै तिम्रो निम्ति
काम नलाग्ने भएँकि क्या ।
केही विशेष घटना घट्यो होला पनि
परिवर्तनको अनुभूति हुन्छ,
अग्निपरीक्षामा उत्तीर्ण भएको झझल्को लाग्छ,
हो, अब मलाई कतै पनि दुख्दैन
मेरो मन पनि दुख्दैन—
मन राख्ने ठाउँ नै कहाँ छ र—
सब उदाङ्ग/निर्वाङ्ग ।—
मेरा इन्द्रिय जे–जेमा पर्छन्
त्यहीँ–त्यहीँ तल्लय हुन्छन्,
म पात देख्नासाथ पातै हुन्छु,
त्यसको सुस्केरामा डुब्छु,
फूलको वर पर्नेबित्तिकै त्यसको सुवासमा वास बस्छु,
जुनसुकै रङ्गमा पनि मिल्ने
मेरो यस्तो गति भइसक्यो—
उडेको छारोभन्दा मैदा—
वाष्पभन्दा पातलो—
तेजभन्दा मसिनो—
हावाभन्दा पनि मिहिन ।
एक बिन्दु पानीको बेग्लै अस्तित्व थियो,
सरोवरमा सरोबरी हुनासाथ
त्यो सरोवर भयो।
म आकाश भएँ।—

बादल फाटेको नीलनभ सङ्लिएतुल्य
म तङ्ग्रिएँ,
म निको भएँ।
तिम्रो वरिपरि रुनेअरू पनि
मेरा बान्धव इष्टमित्र छन्,
ओहो, त्यो किन त्यस्तरी रोएको
ममा त्यसको त्यति माया रहेछ, मलाई थाहै थिएन,
बरु अर्को त्यो जति रुनुपर्ने हो उति रोएको छैन ।

Comments

Popular posts from this blog

सूचना- आधुनिक नेपाली निबन्ध विषयको मूल्याङ्कन सम्बन्ध